• 097711661127
  • 9:30 AM -5:30PM
  • discofkavre@gmail.com

समृद्ध काभ्रे हाम्रो पहिचान घरघरमा सहकारी सदस्यता अभियान

सन्देश

सुजित श्रेष्ठ (का.मु. प्रमुख कार्यकारी अधिकृत)

सहकारी संस्थाहरुको क्षमता विकास, नेतृत्व विकास, सुशासन, पारदर्शिता र जवाफदेहिताका पक्षहरु मजबुद हुँदा मात्रै सिंगो सहकारी अभियानले जीवन्तता प्राप्त गर्दछ भन्ने हाम्रो दृढ विश्वास रहेको छ । सहकारी आन्दोलनलाई सही दिशा, अनुशासन र विश्वसनीयतासहित अगाडि बढाउने दायित्व नेतृत्व तहमा रहने सबैको साझा जिम्मेवारी हो । यस संघले पनि यही मूल मर्मलाई आत्मसात गर्दै जिल्लाका १३ वटै स्थानीय तहमा क्रियाशील सहकारी संस्था तथा संघहरुको संस्थागत सुदृढीकरण, क्षमता अभिवृद्धि तथा दिगो विकासका लागि निरन्तर सहकार्य गर्दै आएको छ । जिल्लाभित्र सहकारी क्षेत्रमा आबद्ध करिव ३ लाख ८३ हजार भन्दा बढी सहकारीकर्मी तथा शेयर सदस्यहरुको विश्वास, आशा र भरोसालाई सम्मान गर्दै सहकारीलाई “टिक्ने, सिक्ने र बिक्ने पाठशाला” का रुपमा विकास गर्नु आजको आवश्यकता हो भन्ने हाम्रो बुझाई रहेको छ । सहकारीमार्फत स्वरोजगार, उत्पादन, उद्यमशीलता, जीविकोपार्जन तथा आयआर्जनका अवसर सिर्जना गर्दै आर्थिक तथा सामाजिक रुपान्तरणमा योगदान पुर्याउने दीर्घकालीन योजना तथा कार्यक्रमहरुलाई प्राथमिकताका साथ अगाडि बढाउनु हाम्रो साझा दायित्व हो । शोषणविहीन आर्थिक सम्बन्धहरुको प्रवर्द्धन गर्दै समावेशी र न्यायपूर्ण आर्थिक प्रणाली निर्माणमा सहकारी क्षेत्रको भूमिका अझ प्रभावकारी बनाउन संघ प्रतिबद्ध रहेको छ । परिवर्तित कानुनी तथा नीतिगत व्यवस्थाअनुसार संघ, प्रदेश तथा स्थानीय तहले निर्माण गरेका सहकारी ऐन, नियमावली तथा कार्यविधिहरुप्रति सहकारी संस्थाहरुलाई सचेत, जिम्मेवार र जवाफदेही बनाउँदै स्वनियमन, अनुगमन तथा संस्थागत सुशासनका अभ्यासहरुलाई ग्रामीण तहसम्म विस्तार गर्नु आवश्यक रहेको छ । यस कार्यलाई प्रभावकारी बनाउन जिल्ला सहकारी संघले पालिकाहरु, सहकारी मन्त्रालय, सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ लि. नेपाल, सहकारी विकास बोर्ड, प्रदेश सहकारी महाशाखा, विभिन्न केन्द्रीय संघहरु तथा अन्य सरोकारवाला निकायहरुसँग निरन्तर समन्वय र सहकार्य गर्दै आएको छ । आगामी दिनमा प्रविधिमैत्री, सुविधा सम्पन्न तथा आफ्नै पूर्वाधारसहितको सक्षम जिल्ला सहकारी संघ निर्माण गर्दै सदस्य संघ/संस्थाहरुलाई भरपर्दो सेवा, प्रभावकारी क्षमता विकास कार्यक्रम तथा दक्ष नेतृत्व उत्पादनमा केन्द्रित रहने हाम्रो स्पष्ट प्रतिबद्धता रहेको छ । सहकारी क्षेत्रको दीगो विकास, संस्थागत विश्वसनीयता तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा जिल्लाको सहकारी अभियानलाई स्थापित गर्ने उद्देश्यसहित हामी निरन्तर क्रियाशील रहनेछौं । सहकारी अभियानलाई अझ सशक्त, विश्वसनीय र परिणाममुखी बनाउन सम्पूर्ण सहकारीकर्मी, सदस्य संस्था, शेयर सदस्य तथा सरोकारवाला निकायहरुको निरन्तर साथ, विश्वास र सहकार्यको अपेक्षा सहित हार्दिक धन्यवाद व्यक्त गर्दछु ।